उर्लाबारीमा सञ्चालित नयाँ मेलमिलापकर्ता उत्पादन तालिम आज सम्पन्न भएको छ । उर्लाबारी नगरपालिका नगर न्यायिक समितिको आयोजनामा असोज २४ गतेदेखि सञ्चालित सात दिने तालिम सम्पन्न भएको हो ।
कञ्चनजंघा होटलको सभाहलमा सञ्चालित तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेलले वडामा आउने विवादमा समाधानका लागि सहजता होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको र सात दिनसम्म सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । समापन कार्यक्रमको अध्यक्ष तथा नगर न्यायिक समितिकी संयोजक मीना खतिवडा पौडेलले वडाबाट छनोट गरेर पठाएका नयाँ मेलमिलापकर्तालाई कानुनका विषय, मेलमिलापका तौरतरिकालगायतका विषयमा सात दिनसम्म जानकारी गराई दक्ष मेलमिलापकर्ता उत्पादन गर्न सफल भएको बताउनुभयो । नयाँ मेलमिलापकर्ताले विवाद निरुपणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक तथा बरिष्ठ अधिवक्ता गणेश लुइटेल, सहभागीका तर्फबाट रुद्रबहादुर अधिकारी र तारा पौडेलले मन्तव्य राख्नुभएको थियो । तालिममा सहभागी नगरका ९ वटै वडाका ३५ जना नयाँ मेलमिलापकर्तालाई नगर प्रमुख खरेल, उपप्रमुख पौडेल, बरिष्ठ अधिवक्ता लुइँटेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो । तालिममा बरिष्ठ अधिवक्ता लुइँटेल र मेघराज न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।