उर्लबारी। मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं १ झण्डे डाँडा स्थित रमिते टाँडिको भित्रि सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो ३:१० बजे दुर्घटना हुँदा एकजनाको मृत्यु र दुईजना घाइते भएका छन्।
रमितेबाट उर्लावारी तर्फ आउँदै गरेको बा.२७ प. १८३५ नम्वरको मोटरसाइकल आँफै अनियन्त्रित भई बाटो भन्दा करिब ६०/७० मिटर तल झरी दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटना हुनसाथ सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङबाट प्रनानि पाँचुलाल चौधरीको कमाण्डमा टोली खटी घाईतेहरुलाई उपचारको लागि अरनिको अस्पताल उर्लावारी ल्याइएकोमा चालक मोरङ बेलबारी १ बस्ने बर्ष ३७ को सुनिल कुमार धिमालको दुबै खुट्टामा चोट लागेको, पछाडि सवार निजकै श्रीमती बर्ष ३५ कि चन्द्र माया धिमालको निधार, दाहिने हात, खुट्टामा चोट लागेको र पछाडि सवार निजकै छोरी बर्ष १३ कि सुस्मिना धिमालको दाहिने हातको कोखमा चोट देखिएको थियोे। डक्टरले चेकजाँच गर्दा सुस्मिनाको मृत्यु भइ सकेको घोषणा गरेकोले कानुनी प्रक्रिया अनुसार मुचुल्काको लागि उर्लाबारी इलाका प्रहरीका प्रहरी निरीक्षक देवेन्द्र दासको कमाण्डमा टोली खटी गएको थियोे। मोटरसाइकल घटना स्थलमै भेटिएको र उक्त स्थान इप्रका उर्लाबारीबाट अन्दाजी २४ कि.मि.उत्तर पर्ने प्रहरीको भनाइ छ। यता उक्त शबको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलवारे पठाईएको प्रहरीले जानकारी दिएको छ । अन्य दुई घाइतेको अरनिको अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक दासको भनाई छ।