अदालतको आदेशले रतुवामाई नगरपालिकाले रोक्यो सडक किनारका हाँगाबिंगा हटाउने तथा सरसफाई गर्ने कार्य रतुवामाई, १० असोज । उच्च अदालत विराटनगरको अन्तरिम आदेशका कारण मोरङको रतुवामाई नगरपालिकाले सडक किनारका रुखका हाँगाबिंगा हटाउने तथा सरसफाई गर्ने कार्य रोकेको छ । गत असोज ८ गते मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रुख नकाट्न नगरपालिकाको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेशका कारण दशैँतिहार जस्ता चाडपर्वको मुखमा नगरपालिकाले उर्लाबारी–इटहरा सडक खण्ड र अन्य भित्रि सडक खण्डका किनारमा रहेका रुखका हाँगाबिंगा , घाँसहरु काट्नुका साथै निर्माण समाग्रीहरुलाई समेत हटाएर सडक किनारलाई सफा बनाउने कार्यक्रम तय गरेको थियो । रुखबिरुवाका हांगाबिंगाका कारण सवारी दुर्घटना तथा नियमित बिधुत आपुर्तिमा समेत समस्या हुँदै आएकाले नगरपालिकाले एक सुचना जारी गर्दै सो कार्यक्रम संचालन गर्ने तयारी गरेको थियो । पालिकाले जारी गरेको सूचना रोक्न र बोटविरुवाको संरक्षणको माग गर्दै अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले रिट दायर गर्नुभएको थियो । सोही रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतले १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन विपक्षीलाई भनेको छ । अदालतको आदेशका कारण सो कार्य रोकिएको नगर प्रमुख नागेश्वरप्रसाद सिंहको सचिवालयले जनाएको छ ।