
उर्लाबारी । उर्लाबारीमा मंगलबार साँझ आयोजित उर्लाबारी कृषि तथा औद्योगिक महोत्सव अन्य दिनभन्दा निकै भीडभाडयुक्त रह्यो। चर्चित गायक दुर्गेश थापालाई आयोजकले महोत्सवमा ल्याएपछि माहोल झन् रोमाञ्चक बन्यो। दुर्गेश आउने खबरले नै महोत्सव स्थल साँझ ७ बजेअघि नै भरिभराउ भइसकेको थियो। दर्शकहरूको अपार उपस्थिति र उत्साहले माहोल उत्सवमय बनेको थियो। चिसो मौसमलाई बिर्साउँदै गायक दुर्गेश थापाले करिब डेढ घण्टासम्म जोशिलो प्रस्तुति दिए। स्टेजमा उद्घोषक हेमराज गुरुङले दुर्गेशको नाम लिनेबित्तिकै दर्शकले चर्को हुटिङसहित उनलाई स्वागत गरे। उनका हरेक प्रस्तुतिमा दर्शक रमाएका थिए। साढे ९ बजे स्टेजमा उक्लिएका दुर्गेशले भने, “दुर्गेश मेरो नाम गाडीमा हिँड्छ, कहिलेकाहीँ त हेलिकप्टरमा पनि हिँड्छ!” दर्शकले “हो” भन्दै साथ दिए। उनले थपे, “बच्चाहरूले मात्र होइन, बूढाहरूले पनि चिन्छन्!” दर्शकको मायाले आफू यहाँसम्म आइपुगेको बताउँदै उनले आफ्नो चर्चित गीत “दुश्मन हेरेको हेरै” ३ करोड भ्युज पाएको जानकारी दिए। थापाले महोत्सवमा उपस्थित हजारौँ दर्शकको मन जित्दै “मेरो दुश्मन छन् धेरै, दुश्मन हेरेको हेरै” गीत प्रस्तुत गरे। उनको गायनमा मात्र होइन, प्रस्तुतिमा पनि दम देखियो। उनले “नाच्नु पर्छ बीचबीचमा”, “कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा”, “बम बम भोले भोले”, “यहाँ रीसको बेलामा” लगायतका चर्चित गीत गाएर दर्शकलाई झुमाए। दुर्गेशले मनोरञ्जन दिन कुनै कसर बाँकी राखेनन्। सुरुमा बाक्लो ज्याकेट लगाएर स्टेजमा उक्लिएका उनी जोश बढ्दै गएपछि ज्याकेट र टिसर्ट फुकालेर स्न्याडो गन्जीमा प्रस्तुत भए। उनको गायनभन्दा बढी दमदार नृत्य प्रदर्शन रह्यो। स्टेजमा यति धेरै उफ्रिए कि चिसो मौसममा समेत उनी पसिनै–पसिना भए। उनका प्रस्तुतिमा बालबालिकादेखि किशोर–किशोरी, युवायुवती सबै रमाइरहेका थिए। स्टेजमै सीमित नभई मैदानसम्मै दर्शक नाचिरहेका थिए। भीड अत्यधिक भएकाले प्रहरी र आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो। दुर्गेशले महोत्सवका तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा सेयर गरेका छन्। उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा फागुन १५ गतेदेखि सुरु भएको महोत्सव फागुन २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष तारामान सेरेङ लिम्बुले जानकारी दिए। महोत्सवमा विभिन्न व्यापारिक स्टल, खेल तमासा, रोटेपिङ लगायतका आकर्षणहरू राखिएका छन्। हरेक साँझ राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिइरहेका छन्।
