
उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीका नयाँ प्रहरी निरीक्षक रञ्जन बराललाई उर्लाबारी नगरपालिकाले विशेष सम्मान गर्दै कार्य सफलताको शुभकामना व्यक्त गरेको छ।
स्वागत समारोहमा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल तथा उपसचिव एवं शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले निरीक्षक बराललाई खादा ओढाएर औपचारिक स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले पछिल्लो समय उर्लाबारी क्षेत्रमा चोरीलगायत विभिन्न आपराधिक गतिविधिहरू बढिरहेको बताउँदै यस्ता घटनाहरू रोक्न सुक्ष्म निगरानी र नियन्त्रण आवश्यक रहेको औंल्याए। साथै, युवाहरू लागूऔषध दुर्व्यसनमा फस्ने, महिला हिंसा तथा घरेलु हिंसाका घटनाहरू बढ्दै गइरहेको अवस्थामा दोषीलाई कडा कारबाही गर्न प्रहरी प्रशासनले कुनै सम्झौता गर्न नहुने उनले बताए।
नगर प्रमुख खरेलले स्थानीय सरकार अपराध नियन्त्रणका सबै प्रयासहरूमा प्रहरी प्रशासनलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ प्रहरी निरीक्षक बरालले शान्ति सुरक्षालाई मजबुत बनाउन सबै पक्षको समन्वय आवश्यक रहेको बताउँदै उर्लाबारी क्षेत्रमा आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय सरकार, नागरिक समाज तथा प्रहरी प्रशासनको सहकार्यबाट अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
प्रहरी निरीक्षक बरालको आगमनसँगै उर्लाबारीमा शान्ति सुरक्षाका प्रयासहरू थप सशक्त हुने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले पनि चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधिहरू नियन्त्रणका लागि प्रभावकारी रणनीति अवलम्बन गरिने विश्वास व्यक्त गरेका छन्।