
उर्लाबारी नगरपालिकाले अवैधानिक रूपमा पटके कर उठाएको भन्दै नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीले विरोध जनाएको छ। आइतबार नगर अध्यक्ष गजेन्द्र दंगाल र सचिव पवन चौधरीको हस्ताक्षरसहित नगरपालिका, इलाका प्रशासन कार्यालय, र इलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाइएको नगर सचिव पवन चौधरीले जानकारी दिए ।
सचिव चौधरीले गृह मन्त्रालयको निर्देशनविपरीत नगरपालिकाले कर उठाउन नपाउने बताएका छन्। अध्यक्ष दंगालले जनतालाई दुःखी बनाएर कर संकलन गर्नु गलत भएको बताए।
यसैबीच, नगरप्रमुख गंगा खरेलले मुख्य राजमार्ग र सहायक सडकमा कर नउठाउने प्रतिबद्धता जनाउँदै अन्य नगर स्तरका सडकमा भने कर संकलन जारी रहने स्पष्ट पारे।