सब डिभिजन वन कार्यालय मंगलबारेले विगत वर्षझै यसवर्ष पनि विभिन्न प्रजातिका विरुवा निःशुल्क वितरण गर्ने जनाएको छ । वन कार्यालयका प्रमुख सहयाक वन अधिकृत तारणीप्रसाद चौधरीका अनुसार ८० हजार वर्षे र ३५ हजार वहुवर्षे विरुवाहरु उत्पादन भइसकेको छ । वन कार्यालय परिसरको नर्सरीबाट उत्पादन गरिएको विरुवाहरु सामुदायिक वन, संघसंस्था, व्यक्तिलगायत सबैलाई मागका आधारमा निःशुल्क वितरण गरिने चौधरीले जनाउनुभयो ।
वन डिभिजन कार्यालय मोरङको अनुदानबाट उत्पादित वर्षे विरुवामा किम्बु, टाँकी, निभारो, भटमासे, सिमल, चक्रासी, खयर, मसला, कदम, बडहर, सिरिस, टिक आदि रहेका छन् । यस्तै, वहुवर्षे विरुवातर्फ निम, अशोक, अम्बक, रुद्राक्ष, कपुर, अमला, पाम, वीरेन्द्र फूल (जराकाण्डा), कागती, सतिसाल, कल्कीफूल, जामुन, कर्मालगायत रहेका छन् । यहि असार १५ गतेबाट विरुवा वितरण हुने जनाइएको छ ।