दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाइ उद्योगमा लागेको आगो करिब ४० घण्टापछि नियन्त्रणमा आएको छ।दाङका प्रहरी निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहाले मंगलबार दिउँसो करिब ४ बजेतिर उद्योगमा लागेको आगो नियन्त्रणमा आएको बताए।सोमबार बिहान करिब १ बजेदेखि लागेको आगो मंगलबार दिउँसो ४ बजेतिर नियन्त्रणमा आएको हो।’आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ,’ उनले भने, ‘भित्र अलि अलि धुँवा भने आइरहेको छ।’पश्चिम नेपालकै ठूलो मानिने उक्त उद्योग ७ बिघा बढी क्षेत्रफलमा फैलिएको थियो। यसले प्रत्येक दिन एक सय टन प्लाइ उत्पादन गर्थ्यो। यहाँ झन्डै साढे चार सय जनाले रोजगारी पाएका थिए।आगो नियन्त्रणमा लिन जिल्लाका तीन वटा, कपिलवस्तु र बाँके जिल्लाबाट दुई/दुई वटा र बर्दियाबाट एउटा गरी आठ वटा दमकल प्रयोग गरिएका थिए। दर्जन बढी पानी ट्यांकर पनि प्रयोग गरिएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी झन्डै साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन भएका थिए।उद्योगभित्र प्लाइ बनाउन ठूलो मात्रामा भण्डारण गरिएका कच्चा पदार्थ, अति प्रज्वलनशील केमिकल र काठका कारण आगो नियन्त्रणमा लिन समय लागेको डिएसपी शाहले बताए।अग्नी नियन्त्रणसम्बन्धी आवश्यक दक्ष जनशक्ति र उपकरण उपलब्ध नहुनाले पनि ठूलो क्षति बेहोर्नुपरेको सरोकारवालाहरू बताउँछन्। आगो नियन्त्रणमा आइसकेको हुँदा अब क्षतिको विवरण संकलन सुरू हुने डिएसपी शाहले बताए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय