विराटनगर । ऋणको भाखा नाघेपछि असुलीका लागि घरमा पुगेका एक वित्तीय संस्थाका दुई कर्मचारीमाथि जुत्ताको माला लगाउने र दुर्व्यवहार गर्ने दुई महिलाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । मोरङ प्रहरीका अनुसार, मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीया दुर्गामाया लिम्बु र ३३ वर्षीया माया मगरविरुद्ध अभद्र व्यवहार, गालीगलौज र हातपातको आरोपमा पूर्जी जारी गरिएको हो । उनीहरू दुवै हाल फरार रहेका छन् ।सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि आइतबार दिउँसो यो घटना भएको थियो ।सार्वजनिक भएको भिडियोमा सुशीला लामिछानेलाई कुर्सीमै बसेको अवस्थामा जुत्ताको माला लगाइएको स्पष्ट देखिन्छ भने रमेश राईले प्रतिकार गर्न खोज्दा उनलाई लछारपछार गरिएको थियो । माया मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामाया लिम्बुले सो घटनाको भिडियो खिचेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा राखिएको भएपनि पछि हटाइएको छ ।

मोरङ प्रहरीका प्रवक्ता, डीएसपी चुँडालका अनुसार, ‘ऋण खाएर नतिरेपछि छलफलका लागि गएका बेला उनीहरूले माला लगाइदिएको भनेर जाहेरी परेको छ ।’ प्रहरीका अनुसार दुर्गामाया लिम्बुको घरमा यो घटना भएको हो । पक्राउ पूर्जी जारी भएपनि अभियुक्तहरू मोबाइल अफ गरेर फरार रहेको र खोजी कार्य जारी रहेको डीएसपी चुँडालले बताइन् ।

ऋण असुलीको सिलसिलामा कर्मचारीहरू उनीहरूको घरमा पुग्दा भएको अमर्यादित आचरणप्रति सहकारी संस्थाले समेत आपत्ति जनाएको छ । सहकारी संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता घटनाले समग्र सहकारी तथा वित्तीय क्षेत्रको छवि धूमिल पार्ने काम गरेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय