मधुमल्ला / मोरङ मिक्लाजुङ गाउँपालिका –५ स्थित कुलुङ झरनामा आन्तरिक पर्यटकको भीड बढेसँगै पहुँचमार्ग विस्तार तथा सुधारको काम तीव्र पार्ने उद्देश्यले स्थानीय तहले स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीको नेतृत्व गाउँपालिका अध्यक्ष बबि कुमार राई, वडा नं. ५ का अध्यक्ष मेगनाथ तामाङ र वडा नं. २ का अध्यक्ष बलबहादुर श्रेष्ठले गरेका हुन्। टोलीले जोगिटार–लिङ्गे हुँदै कुलुङ झरनासम्मको बाटोको अवस्था नजिकैबाट अवलोकन गरेको हो।

अध्यक्ष राईका अनुसार झरना क्षेत्रमा पूर्वाधार विकास र पहुँचमार्ग सुधारका लागि गाउँपालिका र वडाले गरी २० लाख रुपैयाँ बजेट विनियोजन गरी सडक निर्माण तथा मर्मतको काम अघि बढाइएको छ। त्यस्तै, पर्यटकलाई विश्राम गर्न टहरा (शेल्टर) निर्माणमा वडा नं. ५ ले ५ लाख रुपैयाँ खर्च गरिएको वडा अध्यक्ष तामाङले बताए।

उनका अनुसार अहिले दैनिक हजारौँ आन्तरिक पर्यटक कुलुङ झरना पुगिरहेका छन्। भीड व्यवस्थापन, सुरक्षा, फोहोर व्यवस्थापन, संकेतक बोर्ड र पार्किङको व्यवस्था समेत चरणबद्ध रूपमा सुधार गर्दै लैजाने योजना रहेको स्थानीय निकायको भनाइ छ।

गाउँपालिकाले सडक चौडाइ विस्तार, डोजरमार्फत जोखिमयुक्त भागमा संरक्षण पर्खाल (रेटेनिङ वाल) निर्माण, रेलिङ तथा साइनबोर्ड जडान जस्ता कार्यलाई प्राथमिकतामा राखेको छ। अनुगमनपछि संबंधित निकायलाई शीघ्र कार्यान्वयनका लागि निर्देशनसमेत दिइएको जनाइएको छ ।

स्थानीयवासी र व्यवसायीले कुलुङ झरनामा वाढ्दो आगन्तुकलाई लक्षित गर्दै होमस्टे, खाद्यान्न तथा सरसफाइको स्तरोन्नति गर्न स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




