मावा पुल अब ‘पुल’ होइन, अप्ठारो परिस्थिति बनेको छ।४ करोड ४० लाख खर्चिएर बनेको पुल भासिंदै, सरकारको लापरवाहीले जनजीवन जोखिम मा परेको छ। मोरङको उर्लाबारी–९ र झापाको दमक–१० जोड्ने मावा पुल अहिले स्थानीय बासिन्दाका लागि सहुलियतभन्दा पनि खतरा बनेको छ। करिब ४ करोड ४० लाख रुपैयाँको लागतमा बनेको पुल निर्माणको केही वर्षमै जीर्ण बन्दै गएको छ। पुलको झापा तर्फको भागबाट माटो भासिएको छ भने संरचनामा चिरा देखिन थालेका छन्। फलामे भाग खुला देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित छन्। दैनिक सयौं सर्वसाधारण, विद्यार्थी, किसान, बिरामी र व्यवसायीहरू यही पुल भएर ओहोरदोहोर गर्छन्। तर पुलको कमजोर संरचना र भासिंदो छेउका कारण उनीहरू हरेक दिन ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। दुर्घटनाको खतरा टार्न सकिने अवस्था छैन। स्थानीयहरू भन्छन्— पुल हेर्दा कुनै पनि बेला भत्कन सक्छ जस्तो देखिन्छ। पानी पर्दा झन् माटो खस्ने र सतह चिप्लो हुने भएकाले जोखिम दोब्बर हुन्छ। यस्तो अवस्थामा पनि सरकार र सम्बन्धित निकायको चासो हुनु पर्ने हो। पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको आशंका जनाइएको छ। निर्माणपछिको मर्मत, अनुगमन वा निरीक्षणमा पनि कुनै तहले चासो नदिँदा संरचना कमजोर भएको जनगुनासो छ। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म सबै तहका निकाय यसमा ध्यान नपुगेको जन गुनासो छ। झापा तर्फको साइडबाट पुल भत्किँदै गएको छ। पुलसँग जोडिएको माटो भासिएको छ, जसका कारण सवारीसाधन चलाउन झनै कठिन हुँदै गएको छ। अब तुरुन्त मर्मत नगरिए पूर्णरूपमा आवातजावत बन्द हुनसक्ने अवस्था देखिएको छ। स्थानीय जनप्रतिनिधिहरूले समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। अब जनताले सरकारसँग तत्काल मर्मतको माग गरेका छन्। दीर्घकालीन रूपमा पुलको नयाँ डिजाइनसहित पुनःसंरचना आवश्यक रहेको सुझावसमेत दिइएको छ। ‘पुल जोगाउनु भनेको जनताको ज्यान जोगाउनु हो ।




