उर्लाबारी / सांस्कृतिक परम्परा जोगाउँदै समाज सेवामा उदाहरणीय योगदान पुर्याउने उद्देश्यका साथ शाक्य समाज उर्लाबारीका युवाहरूले लाखे नाचबाट संकलित रकम प्रयोग गरी स्थानीय बालगृहका बालबालिकालाई खाजा वितरण गरेका छन्।

रक्षाबन्धन, क्वाटी पूर्णिमा तथा ३१औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित लाखे जात्राबाट उठेको रकममार्फत उर्लाबारी–७ स्थित नमुना बालगृहमा बालबालिकासँग समय बिताउँदै मिठा परिकारहरूको स्वाद चखाइएको हो।

बालगृहका बालबालिकासँग खुशी बाँड्दै कार्यक्रम सम्पन्न गरेका युवाहरूले यस्ता कार्यहरूले सांस्कृतिक सम्पदा संरक्षण सँगै आपसी सद्भाव, सहकार्य र सामाजिक जिम्मेवारीको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

स्थानीयहरूले शाक्य समाजका युवाहरूको यो सामाजिक र सांस्कृतिक पहलको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन सुझाव दिएका छन्।




