उर्लाबारी नगरमा पुर्वाधार निर्माणका एकपछि अर्को ठूला योजना सञ्चालन भइरहेका छन् । उर्लाबारी १ कोपिला चोकदेखि पूर्वतर्फ रहेको बक्रा खोलाको किनारमा नमूना बाँध निर्माण कार्य तीब्र गतिमा अघि बढिरहेको छ । करिब १ किलोमिटर लम्बाइमा बन्ने सो बाँध निर्माणमा कुल २० करोड ३१ लाख ९९ हजार चार सय ७५ रुपैयाँ २२ पैसा लागत अनुमान गरिएको छ ।

आज नगर नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष तिलक पाण्डेलगायत स्थानीय तथा सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थितिमा निर्माण स्थलको स्थलगत अनुगमन गरिएको छ । यस्तै, उर्लाबारी चौकदेखि हाटखोलासम्म मधुमल्ला सडक खण्डको दायाँबायाँ बजार सौन्दर्यीकरण कार्य धमाधम भइरहेको छ । उर्लाबारी बजारको सौन्दर्य बढाउन र समुदायको दीर्घकालीन हितको आयोजनामा नगरपालिकाले कुल ७९ लाख २५ हजार रुपैयाँ लगानी गरेको छ । यसैगरी ११ करोड तीन लाख ८५ हजार आठ सय ८० रुपैयाँ लागतको उर्लाबारी बसपार्क निर्माण भइरहेको छ । एक बिगाहा १३ कठ्ठा क्षेत्रफलमा निर्माण सुरु भएको यो बसपार्क १८ महिनाभित्रमा निर्माण सम्पन्न हुने गरी ठेक्का लागेको छ ।

यसअघि करिब ४० करोड लागतमा कृष्ण चौक सुनझोडा सडक निर्माण सम्पन्न भइसकेको छ । विश्व बैंकको सहयोगमा दुई वर्षमा निर्माण सक्ने सो सडक ११ महिनामा सम्पन्न भइसकेको छ । सो सडक निर्माण सम्पन्न भए लगत्तै उर्लाबारी–४ भानुमार्ग – बहादुरबाबा सडक निर्माणको तयारी सुरु भएको छ । उर्लाबारी वडा नम्बर ४ र ८ लाई जोड्ने २० करोड ८० लाखको लागतमा उक्त सडक निर्माण हुन लागेको हो । कृष्णचौक सुनझोडा सडक निर्धारित समयमा सम्पन्न गरेको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्र सहित अर्को यति ठूलो रकम बराबरको सडक योजना आएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताउनुभयो ।

यसरी नै उर्लाबारी–१ स्थित कोपिला चौकदेखि पूर्व बक्राहा किनारमा चिसापानी बक्राहा नदीमा २० करोडको लागतमा नमुना बाँध निर्माण धमाधम भइरहेको छ । २०७९ माघ ११ गते सम्झौता भई २०८३ असार २० गते सम्पन्न गर्ने गरी उक्त बाँध निर्माण भएको हो । यसरी नै उर्लाबारी चौकदेखि पश्चिमको डुबान समस्या हल हुने भएको छ । एसियन हाइवे निर्माण सँगसँगै ढल निर्माण गरी ढल निकासको समस्या समाधान हुने प्रमुख खरेलले बताउनुभयो ।

यस्तै, उर्लाबारी–४ र ७ को भद्रमारी हुँदै खाइबाचौकसम्मका १३ सय मिटर सडक निर्माण हुने भएको छ । एक करोड ५० लाख रुपैयाँ लागतमा प्रदेशको समपुरक अनुदानसहित सो सडक निर्माण हुन लागेको हो । यसरी नै उर्लाबारी–७ र ८ मा पर्ने चिउरा मिल–न्यूभिजन–आम्बाडी सडक तीन करोड रुपैयाँ लागतमा निर्माण हुने भएको छ । यस्तै, उर्लाबारी–६ स्थित खानेपानी मार्ग सडक संघ, प्रदेश र नगरपालिकाको एक करोड ५० लाख लागतमा दुई किलोमिटर कालोपत्रे हुने जनाइएको छ ।

यस्तै, उर्लाबारीमा तीन वटा पुल निर्माणको तयारीमा रहेका छन् । झुम्राहा पुल राम्री खोलाका लागि तीन करोड, रामनगर–पुरानो मंगलबारे तेली खोला पुल र पर्यटकीय स्थल बाँसेचौरी जाने सुनझोडा खोलामा पुल बन्ने भएको नगरपालिकाले जनाएको छ । उर्लाबारी वडा नम्बर ४ को वडा कार्यालय भवनको निर्माण कार्य धमाधम भइरहेको छ । आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने गरी निर्माण पक्षले काम गरिरहेको

छ । वडा कार्यालय भवनको दुई तला ढलान सम्पन्न भएको छ ।

यसैबीच, उर्लाबारी –९ लामाटोली, भोटेपुल, छिन्ताङ्गेटोल, डाँडागाउँ सडक कालोपत्रका लागि हालको अवस्थाका बिषयमा स्थलगत अनुगमन गरिएको छ । अनुगमनमा उर्लाबारी नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, उर्लाबारी –९ का वडाध्यक्ष नरबहादुर मोक्तान, स्थानीय सामाजिक ब्यक्तित्व सुरेन्द्र शेर्मा, नगरपालिकाका ईन्जिनियर, वडाका प्राविधिक लगायतका स्थानीयहरुको सहभागिता रहेकोे थियो । सो सडक तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत उर्लाबारी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा तीन करोड बजेट प्राप्त भएको र करिब ४ किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको नगर प्रमुख गंगाप्रसाद खरेलले जानकारी दिनुभयो ।

उर्लाबारी नगरपालिकाले गत आर्थिक वर्षमा करिब १५ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय