उर्लाबारी ।मोरङको मिक्लाजुङ गाउँपालिकाका विभिन्न वडामा विद्युत् लाइन अव्यवस्थित, कमजोर र जोखिमपूर्ण बनेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिक्लाजुङ गाउँ कमिटीले नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रमा ध्यानाकर्षण गराएको छ ।

आज बुझाइएको ज्ञापनपत्रमा वर्षायामको सामान्य हावा–पानी परे पनि विद्युत् आपूर्ति अवरुद्ध हुने, बारम्बार दुर्घटनाका कारण जनधनको क्षति बढेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न माग गरिएको छ । अव्यवस्थित लाइन विस्तार र अस्थायी पोलका कारण उपभोक्ताहरू ठूलो मर्कामा परेको भन्दै दिगो समाधान गर्न प्राधिकरणलाई आग्रह गरिएको हो ।

ज्ञापनपत्रमा साविक रमितेखोला गाविस (हालको मिक्लाजुङ–१), वडा नं. २ का कुवापानी, चुलीपोखरी, चिलाउनेटार, आडदिममार्फत विद्युतीकरण भएका क्षेत्र तथा हिमचुली बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालित क्षेत्रमा तत्काल मर्मत, ट्रान्सफर्मर जडान, दिगो पोल व्यवस्थापन र लाइन विस्तारको आवश्यकता औंल्याइएको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा नेकपा (एमाले) प्रदेश सदस्य रामकृष्ण, जिल्ला सदस्य बुद्धिमान लिम्बू, गाउँ कमिटी अध्यक्ष नवीन कार्की, पूर्व वडा अध्यक्ष जीवन राई, स्थानीय नेताहरू शेरबहादुर बस्नेत र गणेश भट्टराईलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा उर्लाबारी वितरण केन्द्रका कार्यालय प्रमुख तथा इञ्जिनियर निरज कुमार साहले समस्या टिपाउन आग्रह गर्दै प्राधिकरण उपभोक्तासँग मिलेर काम गरिरहेको बताए । विद्युत् दुर्घटना रोकथाममा आफूहरू संवेदनशील रहेको र बजेटको अभावकै कारण समस्या देखिएको उल्लेख गर्दै आवश्यकता अनुसार थप छलफल गरेर समाधान गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय