मधुमल्ला (मोरङ)। ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने सरकारी योजनाअन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने प्रतिवद्धता स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले व्यक्त गर्नुभएको छ। शनिबार मधुमल्ला बाल अस्पताल भवन उद्घाटन कार्यक्रममा सहभागी हुँदै मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन (WHO) सँगको सम्झौताअनुसार नेपालमा स्थापना गर्न लागिएको एक सय ल्याबमध्ये एक ल्याब मिक्लाजुङ अस्पताललाई दिने घोषणा गर्नुभयो।

उहाँले स्वास्थ्य मन्त्रालयको प्राथमिकता ग्रामीण क्षेत्रमा आधारभूतदेखि विशेष उपचार सेवा विस्तारमा रहेको उल्लेख गर्दै, “सहरमा मात्र नभई गाउँ–गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो संकल्प हो,” भन्नुभयो। मन्त्री पौडेलले स्थानीय समुदायको सक्रियता, स्वास्थ्य संस्थामा देखिएको सुधार र जनताको विश्वासले सरकारलाई थप प्रेरणा दिएको बताउँदै मधुमल्ला अस्पताललाई देशकै आदर्श ग्रामीण अस्पताल बनाउनुपर्नेमा जोड दिनुभयो।

स्थानीय तहको पहल गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा दन्त उपचार सेवा सुरु गर्न आवश्यक तयारी पूरा भइसकेको बताउँदै चाँडै सेवा सुरु हुने जानकारी दिनुभयो। उहाँले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर लगानी गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यस्तै, उपाध्यक्ष दिनेश पौडेलले शिक्षा र स्वास्थ्यलाई गाउँपालिकाको दीर्घकालीन रणनीतिक योजनाको शीर्ष प्राथमिकतामा राखिएको प्रष्ट पार्दै स्थानीयवासीलाई अझै सहज र नजिकैबाट सेवा दिलाउन पहल भइरहेको बताउनुभयो। दाताको योगदान र सम्मान कार्यक्रमका क्रममा मधुमल्ला अस्पतालका लागि जग्गा उपलब्ध गराउने दाताहरुलाई विशेष सम्मान गरिएको थियो।

दाताको योगदानले नै अस्पताल विस्तार र विकास सम्भव भएको भन्दै वक्ताहरुले कृतज्ञता प्रकट गरेका थिए। स्थानीय स्तरमै स्वास्थ्य सेवा सुदृढीकरणमा यस्ता योगदानले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। २ करोड नजिकको लागतमा बालमैत्री भवन संघीय मन्त्रालय र गाउँपालिकाको संयुक्त अनुदानमा करिब १ करोड ९८ लाख ६१ हजार २ सय ८३ रुपैयाँ लागतमा बालमैत्री अस्पताल भवन निर्माण सम्पन्न भएको हो। आधुनिक पूर्वाधारसहितको यो भवन सञ्चालनमा आएपछि बालबालिकाको उपचार सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ। ग्रामीण स्वास्थ्य सेवामा आशा स्थानीय बासिन्दाले मिक्लाजुङ अस्पतालमा ल्याबसहितका सेवा विस्तारले लामो समयदेखि भोग्दै आएको स्वास्थ्य समस्यामा राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। गाउँमै अत्याधुनिक स्वास्थ्य सुविधा पाउने भएपछि अब सानो उपचारका लागि शहर धाउन नपर्ने उनीहरुको भनाइ छ। यसअघि आधारभूत स्वास्थ्य सेवा मात्रै पाइँदै आएको मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब, दन्त उपचार सेवा र बालमैत्री भवन सञ्चालनमा आएपछि पूर्वी पहाडी क्षेत्रकै नमुना अस्पताल बनाउने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय