मोरङ, उर्लाबारी । ढुङ्गा केवल ढुङ्गा मात्र होइन, जीवनको रूप पाउन सक्ने माध्यम पनि हो—यो विश्वासका साथ मूर्तिकला क्षेत्रमा तीन वर्षदेखि सक्रिय छन् प्रतिक मञ्जुल बराइली। उनका लागि मूर्तिकला केवल पेशा होइन, जीवनको अभिन्न अंश बनेको छ। मूर्तिकला रोज्नुको मूल कारण उनको परिवार हो। मूर्तिकार परिवारमै जन्मिएका प्रतिकलाई कलाको प्रेरणा उनका बाबुबाट मिल्यो। बाबु हाल जापानमा सात वर्षदेखि एक विशाल मूर्ति निर्माणमा व्यस्त छन्।

 

उनले राष्ट्रलाई हजार मूर्ति अर्पण गर्ने सपना बोकेका छन्। यही सपना प्रतिकका लागि मार्गदर्शक बनेको छ। “बाल्यकालदेखि बाबुलाई मूर्ति बनाउँदै गरेको देख्दा मेरो मनमा पनि यही कला सिक्ने चाहना जाग्थ्यो। ढुङ्गालाई आफैंले आकार दिन पाए कस्तो होला भन्ने उत्सुकताले मलाई यसतर्फ तान्यो,” प्रतिक सम्झन्छन्। औपचारिक ज्ञानको खोजीमा उनी भारतको राजस्थान पुगे। त्यहाँ उनले तीन वर्ष मूर्तिकला सिके। त्यसपछि जापानमा चार वर्ष सीपलाई निखारे। तर अन्ततः उनी स्वदेश फर्किए। किनकि उनको चाहना थियो—नेपालमै बसेर कला बचाउने, सम्भावनाको खोज गर्ने र आफ्नै मातृभूमिलाई योगदान दिने। उनले पहिलोपटक बनाएको मूर्ति गणेशको थियो। सुरुमा धेरै बिग्रियो, असफलता आयो।

 

तर हार मानेनन्। निरन्तर अभ्यासले उनी अघि बढे। अहिले जब उनले खोला किनारको सामान्य ढुङ्गालाई रूपान्तरण गरेर सुन्दर मूर्तिमा परिणत गर्छन्, उनलाई लाग्छ—“मैले उसलाई जीवन दिएको छु।” तर यो यात्रा सजिलो छैन। ढुङ्गा संकलनदेखि मेसिन प्रयोग, मजदुरलाई पारिश्रमिक—सबैमा खर्च बढी हुन्छ। नाफा ठूलो हुँदैन। बरु, घाटा पनि नहोस् भने त्यही ठूलो कुरा हो। तर प्रतिकका लागि यो पेशा पैसाभन्दा धेरै माथि—मनको सन्तोष र कलाको सम्मान हो। उनको भर्खरै तयार भएको शिव मूर्ति नै यसको उदाहरण हो। तीन जनाको टोलीले डेढ महिना लगाएर बनाएको उक्त मूर्तिको मूल्य आठ देखि साढे आठ लाख रुपैयाँसम्म पर्छ। प्रतिकलाई विश्वास छ—नेपालमै मूर्तिकला क्षेत्रमा प्रशस्त सम्भावना छ। विदेशिनु मात्रै विकल्प होइन। आफ्नै देशमा बसेर सीपलाई जोगाउँदै, परिवारसँगै रहँदै, कलाबाट जीवनलाई अर्थ दिन सकिन्छ। आज मूर्तिकला प्रतिकका लागि केवल व्यवसाय होइन, उनको पहिचान, जीवनको खुसी र गर्व बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय