
उर्लाबारी नगरपालिका र मातहतका कार्यालयमा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट करिब ७ करोड १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नगर कार्यपालिका कार्यालय र ९ वटै वडा कार्यालयमा शाखागत अभिलेखदेखि जिन्सी सामान, सवारीसाधनसहित व्यापक क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले जानकारी दिनुभयो ।

नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकमा पुनर्निर्माणका लागि व्यापारी, व्यवसायी, स्वास्थ्यकर्मी लगायतले आर्थिक तथा भौतिक सहयोगको घोषणा गरेका छन् । खरेलले आफ्नो ६ महिनाको सेवासुविधा बराबर रकम दिने घोषणा गर्नुभयो ।

व्यवसायी अर्जुन तुम्रोक, चन्द्रबहादुर भट्टराई, सचिन शाक्य, हेम थापा, विकास बुढाथोकी, निरोज तिम्सिना लगायतले लाखौँ नगददेखि सभाहल, गाडी, निर्माण सामग्री, कम्प्युटर–प्रिन्टरसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नगरपालिकाले सबै शाखाबाट छिट्टै सेवा सञ्चालन गर्ने तयारी गरेको र पुनर्निर्माणमा थप सहयाेगका लागि अपील गरेको छ ।





