उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका क्षेत्रमा पछिल्लो समय राजनीति भागबन्डाले शिथिल बन्दै गएको छ ।
विभिन्न संघसंस्था, मठमन्दिर, सामुदायिक विद्यालयहरु, खानेपानी उपभोक्ता समितिदेखि लिएर हरेक क्षेत्रका सञ्चालक समितिहरुमा शिर्ष राजनीतिक दलहरुको हस्तक्षेप दिनदिनै मौलाउँदै गएको हो । उर्लाबारीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ( एकीकृत समाजवादी) , राष्ट्रिय स्वतन्त्र पार्टीलगायत भागबन्डामा गर्दै अध्यक्ष देखि सदस्यसम्म चयन गर्दा कुन संस्थामा कुन दलको कसलाई पठाउने भनेर अगाडि नै तय गर्ने गरिएको छ ।
लोकतान्त्रिक व्यवस्थाको अभ्यासमा खुल्ला प्रतिस्पर्धामा मतद्वारा छानिनु पर्ने हो तर यहाँ लोकतन्त्रको धज्जी उडाएर आपसी सम्झौता गरी गोजिका मान्छेलाई, आफुलाई पायक पर्ने मान्छेलाई छनोट गर्ने प्रबिधिले गर्दा आज हरेक क्षेत्रका संचालक समितिहरु नीजि स्वार्थ पूरा गर्ने माध्यम मात्र बन्न पुगेको प्रष्ट देखिन्छ ।
बिद्यालय सञ्चालक समितिमा छनोट भएका पार्टीका कार्यकर्ताहरुले गरेको कामले न त सामुदायिक विद्यालयहरुको अवस्थामा सुधार भएको छ, न त शैक्षिक गुणस्तरमा फड्को मार्न । मठमन्दिरलाई धर्मको नाममा कमाइ खाने भाडो बनाउन थालेका छन् । संघ संस्थाहरुले आफ्नो दायित्व कर्तव्य र जिम्मेवारलाई थाती राखेर मनोमानी तरिकाले काम गरेको पाइन्छन् ।
जुन सुकै दलको प्रतिनिधि गरेर गए पनि दल भन्दा माथी उठेर दीर्घकालीन, गुणस्तरीय योजना र परिवर्तनको पक्षमा काम गर्ने हो भने त्यति गुनासोको विषय हुने थिएन । तर, यहाँ त्यस्तो केही भएको देख्न सकिँदैन ।
परिवर्तनशिल समयको माग दिगो विकास हो, नयाँ सोच हो, नैतिकताको पाठ हो, युवा बिचार हो, योजना कार्यान्वयनको अभ्यास हो, नेतृत्व क्षमताको अभिवृद्धि हो । सामाजिक उत्तर दायित्व हो , श्रोत साधनको खोज हो, समस्या सावधानको निम्ति संबेदनशिल हुनु हो । तर, यहाँ पुरानै टाँचा, पुरानै शैली, पुरानै मानसिकतामा सिङ्गो नगरको निकास खोज्नु मुर्खता हो ।
यो राजनीति भागबन्डामा एउटै ब्यक्तिले दुई चार वटा ठाउँ ओगटेको कारणले जुन क्षेत्रमा जुन दक्ष जनशक्ति चाहिएको हो । त्यो पूरा हुन नसक्दा स्वतन्त्र सचेत नागरिक र अनुभवी जनशक्ति सधैं पछि पर्नु परेको हुँदा सिङ्गो उर्लाबारीको अवस्था दिनहुुँ दिन डरलाग्दो भुमरीले तानेर निस्किनै नसक्ने दलदलमा डुबेको र यस बिषयमा सरोकारवालाहरुको चाँडै ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय